मकवानपुरमा सुपथ पसल कार्यालयबाट सञ्चालन

हेटौंडा, दशै, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन हुने सुपथ पसल मकवानपुरमा भने कार्यालयबाटै सञ्चालन भइरहेको छ । चाडपर्वलाई लक्षित गरी हेटौंडा बजारमा सुपथ पसल सञ्चालन गरी उपभोक्तावर्गलाई नून र चिनीमा सहुलियत प्रदान गर्दै आइरहेको साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाले यस वर्ष कार्यालयबाट सुपथ पसल सञ्चालन गरिरहेको छ ।

‘सरकारले हामीलाई चिनी दिएन । नूनको लागि मात्र भनेर सुपथ पसल हेटौंडा बजारमा सञ्चालन गरेनौँ । कार्यालयबाट उपभोक्तालाई नून वितरण गरिरहेका छौँ ।’ साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाका प्रमुख मोहनप्रसाद बरालले भने –‘प्रति प्याकेट नून उपभोक्तालाई १८ रुपैयाँमा विक्रि वितरण गरिरहेका छौँ । एक जनालाई ६ केजीसम्म नून दिएका छौँ ।’ बजारमा प्रति प्याकेट नून २० रुपैयाँमा विक्रि वितरण भइरहेको छ । सुपथ पसल छठ पर्वको भोलिपल्टसम्म सञ्चालन हुने उनले जानकारी दिए ।

यसैगरी हेटौंडा दुग्ध वितरण आयोजनाले पनि आफ्नै विक्रि केन्द्रबाट सुपथ पसल सञ्चालन गरिरहेको छ । असोज १ गतेदेखि कातिक १५ गतेसम्म पसल सञ्चालन गरिने आयोजनाका प्रमुख नवीन किशोर शर्माले जानकारी दिए । कार्यालयले घ्यू, पनिर, चिज र दहीमा छुट दिई उपभोक्तालाई विक्री गरिरहेको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्यालयको आफ्नै विक्रि केन्द्रबाट घ्यूमा प्रति केजी ५० रुपैयाँ, पनिर र चिजमा प्रति केजी २० रुपैयाँ तथा दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिई उपभोक्तालाई विक्री गरिरहेको शर्माले बताए । घ्यू प्रति केजि १ हजार १ सय २० रुपैयाँ रुपैयाँ रहेको छ । त्यसैगरी कार्यालयबाट उत्पादन हुने याक चिज र कन्चन चिजमा पनि प्रति केजी २० रुपैयाँ छुट प्रदान गरिरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *