हेटौंडा क्याम्पसलाई क्यूएए प्राप्त

हेटौंडा, हेटौंडा ४ मा रहेको हेटौंडा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसअनुसार क्याम्पसलाई क्युएए प्राप्त गरेको हो ।

ADVERTISEMENT

भक्तपुर स्थित आयोगको कार्यालयमा भएको कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले हेटौँडा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दाराम पराजुलीलाई क्युएए प्रमाणपत्र प्रदान गरेका थिए । क्याम्पस समितिका अध्यक्ष पराजुलीले क्याम्पसले प्राप्त गरेको उपलब्धी जोगाइराख्न अब क्याम्पस थप सशक्त ढङ्गबाट अघि बढ्न आवश्यक रहेको बताए । विश्वविद्यालय अनुदान आयोगले क्युएए प्रदान गर्ने क्रममा सामुदायिक क्याम्पसको हकमा क्षमता विकास तथा भौतिक संरचना सुधारका लागि अनुदान समेत दिने गरेको छ । क्युएए प्राप्तिकै क्रममा हेटौँडा क्याम्पसले आयोगबाट भवन निर्माणका लागि अनुदान समेत प्राप्त गरेको छ ।

क्युएए प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसाल, हेटौँडा क्याम्पसका कार्यवाहक प्रमुख बालकृष्ण शर्मा, निवर्तमान क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, हेटौँडा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष मुनु सिग्देल र क्याम्पस सञ्चालन समितिका पदेन सदस्य एवम् हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, पब्लिक क्याम्पस प्राध्यापक संघ हेटौँडा क्याम्पस इकाईका अध्यक्ष भुपेन्द्र कोइरालाको पनि उपस्थिति रहेको थियो । शिक्षा, मानविकी र व्यवस्थापन संकाय अध्ययन अध्यापन हुने हेटौंडा क्याम्पसमा अहिले १ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

मकवानपुर जिल्लामा मकवानपुर बहुमुखी क्याम्पस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले क्युएए प्राप्त गरिसकेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *