हेटौंडा, साहित्यकार लोकराज पौडेलको उपन्यासमा आधारित नेपाली कथानक चलचित्र ‘अग्निदहन’ को निर्माण टिम हेटौंडा आइपुगेको छ । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुने चलचित्रको प्रचार–प्रसार गर्न सो टिम हेटौंडा आइपुगेको हो ।
सोमबार चलचित्र पत्रकार संघ मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत् ‘अग्निदहन’ को टिमले चलचित्रको बारेमा जानकारी गराएको हो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको उक्त चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेको निर्देशक घनश्याम लामिछानेले बताए ।
लामिछानेले सामाजिक कुरीति बोक्सी प्रथाको अन्त्यका लागि चलचित्र निर्माण गरिएको बताए । एक करोड भन्दा बढी लगानीमा बनेको चलचित्र नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरी र मैथिली भाषामा प्रदर्शनीमा ल्याउने तयारी गरेको चलचित्रका संरक्षक मोहनराज शर्माले जानकारी दिए ।
चलचित्रबाट आएको रकम सामाजिक कुरीति, कुप्रथा अन्त्यका लागि नै खर्च गरिने उनको भनाई छ ।
सामाजिक कथावस्तु रहेकाले सबै परिवार, शिक्षक विद्यार्थी सबैले हेर्नुपर्ने कथा रहेको निर्माण पक्षको दाबी रहेको छ । पाँच सय भन्दा बढी स्थानमा विशेष प्रदर्शनमा आइसकेको चलचित्रले २०७५ सालमा विशेष चलचित्र अवार्ड प्राप्त गरेको थियो ।
कोविदशरण उपाध्यायको प्रस्तुती रहेको चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, तारा बहादुर गुरुङ लगायतको कलाकारको अभिनय रहेको छ ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, प्रतिष्ठानका केन्द्रीय सदस्य दीपक पराजुली, कमला पाण्डे लगायतको उपस्थिति रहेको थियो ।







