हेटौँडा, थाहा नगरपालिका–४, इन्द्रायणीचौरमा आगामी मंसिर ४ गतेदेखि थाहा नगरपालिकाको आयोजनामा ‘थाहा नगरस्तरीय अन्तरवडा मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२’ सुरु हुने भएको छ।
खेलकुद विकास समितिका अनुसार प्रतियोगिताका लागि आवश्यक तयारी तीव्र गतिमा अघि बढाइएको छ। प्रतियोगितामा थाहा नगरपालिकाका सबै वडाका फुटबल टिमहरूले सहभागिता जनाउन सक्नेछन्। टिम दर्ताको अन्तिम मिति मंसिर २ गतेसम्म निर्धारण गरिएको छ। हरेक टिमले १८ जना खेलाडीको नाम अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ। सम्पर्क तथा दर्ता सम्बन्धी जानकारीका लागि सुमन बिष्ट (९८०९२६४०९७) लाई सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने रनर–अप टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ।
थाहा नगरपालिकाले यस्तो प्रतियोगितामार्फत नगरका युवामा खेलप्रति रुचि अभिवृद्धि गर्ने, प्रतिभा पहिचान गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।






