हेटौंडा, मनहरी गाउँपालिका ६ लोथरमा रहेको प्रगति राष्ट्रिय प्राविका विद्यार्थीलाई चैनपुर जेसीज मनहरीले स्टेसनरी सामग्री सहयोग गरेको छ ।
जेसीज सप्ताह २०२४ अन्तर्गत मंगलबार बिहान विद्यार्थीका लागि स्टेसनरी सामग्री सहयोग गरिएको हो ।
विशेषगरी विपन्न परिवारका विद्यार्थी अध्ययनरत स्कुल भएकोले सहयोग गरिएको जेसीजका अध्यक्ष रविन ढकालले जानकारी दिए । कार्यक्रम संयोजक अर्जुन कार्कीको संयोजकत्व एवम् मनहरी गाउँपालिकाका कार्यपालिका सदस्य राममाया नगरकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नगरकोटीले विपन्न विद्यार्थी अध्ययनरत विद्यालयमा सहयोग गरेकोमा जेसीजलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरिन् । जेसीजका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सिताराम राई, शिक्षिका सुशिला रुम्बा, सरुका नगरकोटी लगायतको आतिथ्यता थियो ।
जेसीज सप्ताहका मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमले जेसीज सप्ताहको विषयमा जानकारी गराएका थिए । जेसीज सप्ताह अन्तर्गत बुधबार स्लो मोटरसाइकल रेस प्रतियोगिता, विहीबार महेन्द्र ज्योति मावि हाँडीखोलामा लागूपदार्थ दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम, शुक्रबार ‘समाजका लागि युवा’ विषयमा बालज्योति मावि मनहरी १ मा वत्तृत्वकला र शनिबार हाँडीखोलाको लामिटारदेखि गोलघरसम्म जेसीज दौड प्रतियोगिता हुने सहमूल कार्यक्रम संयोजक नवराज रिजालले बताए ।