हेटौँडा, मकवानपुरे साहित्यकार एवम् साहित्यिक अभियन्ता दीपक गौतमको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । बिहीबार हेटौँडामा एक कार्यक्रमकाबीच गौतमको ‘सिमाना’ शीर्षकको ‘मेची जगाओैं, महाकाली जगाओैं बोलको गीत सार्वजनिक गरिएको हो ।
चर्चित गाउक रामकृष्ण ढकालको स्वरमा सजिएको भिडियोसहितको गीत गौतमले आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरे । दुई वर्षअघि रेकर्ड गरिएको देशभक्ति भावको गीतको भिडियो तयारीका लागि केही समय लागेकाले गीत सार्वजनिक गर्न बिलम्ब भएको गीतकार गौतमले बताए । गीतमा नेपालले सुगौली सन्धिको क्रममा गुमाएको भूमि फिर्ता पाउनुपर्ने र आफ्नो देशको सीमारक्षाका लागि हरेक देशभक्त नेपाली नागरिक जागरुक भई लाग्नुपर्ने देशभक्त एवम् क्रान्तिकारी विचार अघि सारिएको छ ।
गीतकार गौतमको शब्दरचना रहेको उक्त गीतमा रामकृष्ण ढकालको स्वर र तुलाराम थापाको सङ्गीत संयोजन रहेको छ । किशोर बालबालिकाहरूको नेतृत्वमा रहेको संस्था नवसर्जक साहित्य चौतारी नेपालका संरक्षकसमेत रहेका गौतमले चौतारीकै चियापान कार्यक्रमका क्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार रमेशमोहन अधिकारी र नवसर्जककी अध्यक्ष प्रसन्ना चौलागाईँले संयुक्त रूपमा किताबघर, हेटौँडामा गीत सार्वजनिक गरेका हुन ।
म्युजिक भिडियो प्रस्तुतिपश्चात् कवि, गीतकार एवम् सङ्गीतकार पुरुषोत्तम आचार्यले गीतप्रतिको समीक्षात्मक टिप्पणी राखेका थिए ।






