हेटौंडा/हेटौंडा २ मा रहेको बालजागृति अंग्रेजी माध्यमिक विद्यालयले भीमफेदी गाउँपालिकाको १ नम्बर वडास्थित किसेडीमा रहेको दीपक आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
बालजागृतिका विद्यार्थीबाट संकलन गरिएको र विद्यालय प्रशासनको सहयोगमा करिब १ लाख रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरणमा बालजागृतिले रोटर्याक्ट क्लब अफ हेटौंडा र लियो क्लब अफ मकवानपुर डायमण्डसँगको समेत सहकार्य गरेको थियो । जाडोयामको सुरुवातसँगै विद्यार्थीको सहजताका लागि न्यानो कपडा वितरण गरिएको हो ।
बालजागृति विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारी, प्रिन्सीपल विनोद सुवेदी, भाइस–प्रिन्सीपल अमुल श्रेष्ठ, विद्यालयका सामाजिक कार्य क्लब अध्यक्ष स्रेस्ता विष्ट लगायतले दीपक आधारभूत विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेका हुन् । दीपक आधारभूत विद्यालयका अध्यक्ष मणिपकुमार स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मुक्ति लामाको प्रमुख आतिथ्य रहेको थियो । विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व एवम् सहयोगी भावनाको विकास गराउन सहयोग कार्यक्रमको आयोजना गरिएको बालजागृतिका प्रिन्सिपल विनोद सुवेदीले बताए । सहयोग मात्र नभइ दुवै विद्यालयले साथसाथ सिकाइ कार्य अवलम्वन गर्दै जाने उनले बताए ।
आगामी दिनमा पनि विद्यालयमा निरन्तर सहयोग र सहकार्य गर्ने उनले बताए । दीपक आधारभूत विद्यालयका प्रधानाध्यापक गंगा लामाले बालजागृतिबाट प्राप्त सहयोगले विपन्न परिवारका विद्यार्थीलाई राहत मिलेको प्रतिक्रिया दिए । कक्षा ७ सम्म अध्ययन हुने विद्यालयमा १७९ विद्यार्थी छन् । विद्यार्थीहरुले खेलकुदको सामग्री सहयोग गरिदिन समेत माग गरेका छन् ।








