हेटौंडा, हेटौंडा–४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । संस्थाका अध्यक्ष बसन्तराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा सांसद् कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी सांसद मोक्तानले सहकारीले उत्पादनमा पनि जोड दिनुपर्ने बताएकी थिइन । सहकारीले बचत, ऋण कारोबारमा मात्र नभई अब उत्पादनतर्फ पनि जोड दिनुपर्नेमा उनले औल्याएकी थिइन् । कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन सहकारीका अध्यक्ष बसन्तराज गौतमले प्रस्तुत गरेका थिए, सचिवको प्रतिवेदन दीर्घ नारायण भट्टराईले र कोषाध्यक्ष जयराम घितालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
७ सय ८१ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पूँजी १ करोड १३ लाख ४३ हजार ५ सय रुपैयाँ, कुल बचत ४ करोड २६ लाख ३१ हजार रुपैयाँ, कुल ऋण लगानी ५ करोड ४ लाख ६२ हजार रुपैयाँ रहेको सहकारीको व्यवस्थापक राजकुमार चौलागाईले जानकारी दिए ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य जगन्नाथ ढकाल, असल बचतकर्तामा राजकुमारी गुप्ता, असल ऋणीमा अम्बर बहादुर पाख्रिन, उत्कृष्ट बाल बचतकर्तामा निर्भाणा कार्की र उत्कृष्ट अङ्क हासिल गर्ने शेयर सदस्य महानुभावहरुका छात्र÷छात्रालाई पुरस्कृत गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान, संविधान सभा सदस्य प्रल्हाद लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।






