हेटौँडा, ‘सीप सिकौं, भविष्य बनाऔं’ भन्ने नारासहित युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले रोटरी क्लब अफ हेटौँडाले विद्यार्थीहरूका लागि निःशुल्क सीपमूलक तालिम सुरु गरेको छ। आजदेखि सुरु भएको सात दिने तालिम हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ।

हेटौँडा उपमहानगरपालिका–९ वडा कार्यालय तथा प्रगति माध्यमिक विद्यालयको सहकार्यमा आयोजित तालिममा इलेक्ट्रिसियन, ब्युटिसियन, बारिस्ता तथा कपाल काट्ने सीपसम्बन्धी प्रशिक्षण सञ्चालन हुनेछ ।
जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले तालिम उद्घाटन गर्नुभएको हो । विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक सीप प्रदान गरी आर्थिक रूपमा सक्षम र रोजगारीमा प्रतिस्पर्धी बनाउनु रहेको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले बताउनुभयो। तालिमबाट प्राप्त सीपको प्रयोग गरी विद्यार्थीलाई साना व्यवसाय सुरु गर्न प्रोत्साहित गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
विशेषगरी आर्थिक रूपमा कमजोर तर सिक्ने उत्साह भएका विद्यार्थीलाई प्राथमिकता दिइएको यस तालिममा करिब १०० जना सहभागी भएका छन्। पूर्ण रूपमा निःशुल्क रुपमा सञ्चालन तालिममा अनुभवी प्रशिक्षकहरूले व्यावहारिक अभ्यासमा विशेष जोड दिने प्रधानले उहाँले बताउनुभयो।
उद्घाटन कार्यक्रममा रोटरी क्लब हेटौँडाका पूर्वअध्यक्ष तथा पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका प्रशिक्षकहरूको उपस्थिति रहेको थियो।






