हेटौंडा, मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिताको उपाधी ओमनगर क्रिकेट क्लवले जितेको छ । आइतबार भएको फाइनल खेलमा मकवानपुर क्रिकेट क्लवलाई १० विकेटले पराजित गर्दै ओमनगर विजयी भएको हो ।
गतवर्ष भएको छनोट प्रतियोगिताको फाइनल खेलमा मकवानपुर क्रिकेट क्लवसँग ३९ रनले पराजित भोगेको ओमनगरले यसवर्ष बदला लिएको छ । आइतबार भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुर क्रिकेट क्लवले ३० ओभरमा ९ विकेटको नोक्सानीमा ११६ रन बनायो । मकवानपुर क्रिकेट क्लवका लागि तक्षक सिम्खडाले ३२ रन बाहेक अरु खेलाडीले खासै रन बटुल्न सकेन ।
मकवानपुर क्रिकेट क्लवलाई सस्तैमा समेट्नको लागि ओमनगर क्रिकेट क्लवका अहमद राजाले ३ विकेट, रोहित ठाकुरले २ विकेट लिए भने असिम श्रेष्ठ, पियुष शर्मा र विशाल फुयाँलले समान १ विकेट हात पारे । ११७ रनको लक्ष्य पाएको ओमनगर क्रिकेट क्लवले १२ दशमलव २ ओभरमा विना विकेट लक्ष्य भेटायो । ओमनगरका लागि शुभ कंसाकारले ३२ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाए । यसैगरी गौरभ खड्काले ३४ रन बनाए । कंसाकार र खड्का खेलमा ‘रिटाएर्ड’ भए । यसैगरी आशिक दाहालले ९ बल खर्चेर १७ रन जोडे भने गोकुल अधिकारीले ७ रन जोड्दै नट आउट रहे । प्रतियोगितामा ओम नगर क्रिकेट क्लवका गौरभ खड्का उत्कृष्ट ब्याट्सम्यान, रोहित ठाकुर सर्वोत्कृष्ट खेलाडी र मकवानपुर क्रिकेट क्लवका निश्चल दुलाल उत्कृष्ट बलर घोषित भए ।
हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलले प्रतियोगिताका विजेता र उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएका थिए । मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महतरा क्षेत्रीको सभाध्यक्षमा भएको पुरस्कार वितरण कार्यक्रममा हेटौंडा ४ नम्वर वडा सचिवपुष्पराज पौडेल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तान, क्रिकेट संघ मकवानपुरका पूर्वअध्यक्ष वासुलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।






