हेटौंडा, हेटौंडामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेष्ठ १९ गतेबाट गोल्डकप सुरु हुने जनाएको छ ।

विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक प्रताप विष्टले खेलमा देशका १० वटा क्लबहरुले सहभागिता रहने बताएका छन् । उनले खेल नकआउटको आधारमा खेलाईने प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्ने बताए । उनले विधागत पुरस्कारमा जनही २५ हजार नगद प्राप्त गर्ने बताए ।
हेटौंडाको पिप्ले क्याम्पा खेल मैदानमा हुने प्रतियोगितामा दर्शकका लागि एक सय, दुई सय र दुई सय पचास टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ । खेलमा एक करोड १७ लाख ९२ हजार आम्दानी हुने र करिब एक करोड १५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षता तथा हेटौंडा १४ का वडा अध्यक्ष दीपक खड्काको प्रमुख अतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, कार्यालय सचिव राजन दाहाल ९खुसराज० लगायत पत्रकार तथा खेलकुदकर्मीहरुको उपस्थिती रहेको थियो ।







