हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अबको शिक्षा व्यवहारिक तथा प्रविधि मैत्री हुनुपर्ने बताएका छन् । शुक्रबार हेटौंडा–१ मा रहेको अमर माध्यमिक विद्यालयको ३२ औँ अभिभावक भेलामा बोल्नु हुँदै मुख्यमन्त्री लामाले शिक्षामा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
‘अहिलेको शिक्षा व्यवहारिक हुन सके मात्र उपयोगी हुने छ ।’ मुख्यमन्त्री लामाले भने –‘प्राविधिक ज्ञान भएमा मात्र देश विकासित हुने छ ।’ सामुदायिक विद्यालयले सीमित स्रोतसाधनबीच उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गर्दै मुख्यमन्त्री लामाले अमर माध्यमिक विद्यालको भवन निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विद्यार्थीको भविष्य उज्जवल बनाउनको निम्ति सरकार, अभिभावक, विद्यार्थी र शिक्षकको दायित्व हुने भएकोले गर्दा विद्यालयको शैक्षिक सुधारको निम्ति बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले विद्यालय शैक्षिक सुधारका निम्ति तालिम, बसलगायत सञ्चालन गरिरहेको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यपक मालती उप्रेतीले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । ६ सय ४९ जना विद्यार्थी अध्ययनरत विद्यालयको कक्षाकोठाको अभाव, खेलमैदानको अभाव, सभाहलको पूर्ण व्यवस्था गर्न नसकिएको, छात्रावासको अभाव, यातायातको अभाव (२ घण्टासम्म हिँडेर विद्यार्थीहरु विद्यालय आउनुपर्ने बाध्यता) र विद्यालय नर्सको व्यवस्था गरी विद्यालयको भौतिक पक्षलाई सुधार गर्नुपर्ने उप्रेतीको भनाइ रहेको थियो । गत वर्ष २०८० सालको परीक्षामा कक्षागत रुपमा प्रथम, द्वितीय, तृतीय हुनुभएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयको भौतिक रुपमा सहयोग गर्नुहुने, विद्यालयले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्नुहुने, एसइइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी, उत्कृष्ट सिकाइ उपलब्धी गर्ने शिक्षक, विद्यालय व्यवस्थापन समिति, सल्लाहकार, शिक्षकहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा स्काउटका विद्यार्थीहरुले मार्च पास गर्दै मुख्यमन्त्रीलाई स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिका १ नम्वर वडाध्यक्ष सविन न्यौपानेलगायतको आतिथ्यता रहेको थियो । विद्यालयको ३२ औँ अभिभावक भेलाबाट नयाँ व्यवस्थापन समिति गठन हुनेछ ।






