हेटौंडा, यही मङ्सिर २७ गतेदेखि हेटौंडामा आयोजना हुन लागेको १५ वर्षमुनिको ८ ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । ‘राष्ट्रिय खेलाडी बन्ने होड उत्पादनमा जोड’ भन्ने मुल नारासहित पिप्ले युवा क्लव हेटौंडाको आयोजना तथा हेटौंडा– ५ नम्वर वडा कार्यालयको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा २० वटा टिमले सहभागिता जनाएका छन् ।

आइतबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिनुका साथै खेल तालिका पनि सार्वजनिक गरेको छ । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन नागस्वी फुटबल एकेडेमी विरुद्ध हर्नामाडी सृजनशिल क्लव रहेको छ । प्रतियोगितामा नागस्वती फुटबल एकेडेमी, हर्नामाडी सृजनशिल क्लब, न्यू डाँफे युथ क्लब, पिप्ले युवा क्लब (यू–१३), बार्सा हेटौंडा, ज्ञानज्योति युवा क्लब, रियल स्टार क्लब, निजगढ फुटबल क्लब, कमाने फुटबल एकेडमी, बाल्मिकी शिक्षा सदन (चितवन), श्री पञ्चशिल युवा क्लब, दिव्य स्पोर्टस् एकेडेमी, बिरगंज स्पोर्टस् एकेडेमी, चौघडा फुटबल एकेडेमी, देवनगर फुटबल क्लब, गैरिवारी फुटबल एकेडेमी (चितवन), एफडी डाँडाबास, हेटौंडा एकेडेमी, पिप्ले युवा क्लब (यू–१५) र शिखर क्लब, थाहा नगर क्वब रहेको आयोजक पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले जानकारी दिए ।
हेटौंडा ५ मा रहेको पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लागि करिब ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सुविन घिमिरेकै नेतृत्वमा रहेको एफसी मुण्डियालले अघिल्लो वर्ष यू २१ फुटबल प्रतियोगिता आयोजना भएको थियो ।






