हेटौंडा, उद्योग संघ हेटौंडाले हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा जाँच कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न उद्योगका ११६ जना कामदार तथा कर्मचारीहरूको आँखा परीक्षण गरिएको थियो ।
परीक्षण गरिएका मध्ये एक जनामा मोतिविन्दु देखिएको र अन्य १० जनालाई थप उपचारका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा जान सल्लाह दिइएको छ । मोतिविन्दु देखिएका बिरामीलाई शल्यक्रियाका लागि अस्पतालमा बोलाइएको छ । कार्यक्रममा आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।
हेटौंडा इन्जिनियरिङ, यती पेन्ट्स, सीई हाइड्रो, हेटौंडा फेब्रिकेशन, सामुराई स्टील, केपीजे लगायतका उद्योगका कामदार–कर्मचारीहरूको आँखा जाँच गरिएको हो ।
हेटौंडा सामुदायिक आँखा अस्पतालले सामुदायिक सेवा कार्यक्रमअन्तर्गत नियमित रुपमा विद्यालयमा पुगेर विद्यार्थी तथा उद्योग–व्यवसायमा पुगेर कामदार–कर्मचारीहरूको आँखा परीक्षण गर्दै आएको छ ।






