हेटौंडा, प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजना हुन लागेको खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कविता छनौट गरिएको छ । उत्कृष्ट २० कविताका साथै कविहरुको समेत नामावली सार्वजनिक गरिएको हो ।

पुस १ गते प्रकाशित सूचनाबमोजिम प्राप्त २२३ कवितामध्ये बारा, पर्वत, दैलेख, तनहु, सिन्धुली, धनकुटा, दोलखा, बझाङ, सङ्खुवासभा, सिन्धुपाल्चोक, नुवाकोट, उदयपुरका १/१, धादिङ र कास्की २/२ र मकवानपुरका ४ कविहरूका कविता छनौट चरणमा परेको साहित्य सङ्गम मकवानपुरको अध्यक्ष डीबी बर्तौलाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतियोगितामा उत्कृष्ट २० मा पर्न सफल कवि स्वयम् उपस्थित भई पुस ६ गते कविता वाचन गर्नुपर्ने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रदेश युवा परिषद बागमतीको आयोजनामा हुने राष्ट्रिय युवा कविता उत्सवमा खुला कविता प्रतियोगितासँगै मोमिला जोशीको एकल कविता वाचन सत्र समेत हुने साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौलाले बताए । मकवानपुरका स्रस्टालगायतका पुस्तकहरू प्रदर्शनीमा राखिने समेत बर्तौलाले जानकारी दिए ।





