हेटौंडा, हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकरण सम्बन्धि विषयमा आवश्यक प्रक्रिया अघि बढेको छ । हेटौंडा–४ मा रहेको भुटनदेवी मावि (प्राविधिक शिक्षालय) र आधुनिक राष्ट्रिय मावि एकीकरण प्रक्रियाका लागी उपमहानगरपालिकामा आवश्यक कागजात पेश गरिएको छ।
दुबै विद्यालयका प्रधानाध्यापकहरु रामसागर गुरागाईँ र माधव दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद समिम तथा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले मंगलवार आवश्यक कागजात नगर प्रमुख मिनाकुमारी लामालाई बुझाएका हुन्। शिक्षा मन्त्रालयले ‘बिग स्कूल’ को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका दुई ठूला विद्यालय एकीकृत गर्ने विषयमा छलफल सुरु भएको थियो ।
वडाध्यक्ष सिग्देल भुटनदेवी माविका व्यवस्थापन समिति अध्यक्ष समेत हुन् भने गुरागाईं आधुनिक मावि र दाहाल भुटनदेवी माविका प्रधानाध्यापक हुन्। दुई वा दुई भन्दा बढी विद्यालय एकीकृत गरी मेघा विद्यालय संचालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको बिश्वसनीयता बृद्धि गर्न सकिने, हेटौंडालाई शैक्षिक हवको रुपमा विकास गर्न सकिने जस्ता धेरै उपलब्धी हुने वडाअध्यक्ष सिग्देल बताउँछन् ।







