हेटौंडा, मकवानपुर प्रहरीले २ करोड ७१ लाख २१ हजार ७ सय ८० रुपैयाँ बराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित थानाभर्याङबाट बिहीबार साँझ सो परिमाणको भेप तथा फ्लेवरसहित उनीहरुलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
प्रहरी उपरीक्षक रिजालका अनुसार, काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जानको लागि आउँदै गरेको ना ६ ख ७१६३ नम्वरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा रहेका भारतीय यात्रुहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट सो परिमाणको भेप बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा बस चालक दोलखाको भिमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सह–चालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटाको बेलका नगरपालिका वडा नम्बर–१६ का २९ वर्षीय राजकुमार हिमाङ रहेका छन् ।
उनीहरुलाई प्रहरी उपरीक्षक रिजालको कमाण्डमा खटिएको बागमती प्रदेश प्रहरी कार्यालयसहितको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले बससहित नियन्त्रणमा लिएका उनीहरुलाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको मकवानपुरका प्रहरी उपरीक्षक रिजालले जानकारी बताए ।
प्रहरी उपरीक्षक रिजालका अनुसार, पक्राउ परेकामध्ये केही व्यक्तिहरुले पहिले पनि पटक–पटक यस्ता किसिमको भन्सार छलिका अबैध समानहरु ल्याउँने लैजाने गरेको भनि खुल्न आएको बुझिएको छ ।






