हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोडेर अघि बढाउन जरुरी रहेको बताएका छन् । प्रतिफल आउने गरी सरकारले पूर्वाधार विकासमा सरकारले गरेको लगानी गर्नुपर्ने उनले बताए ।
सोमबार हेटौँडा–१५ स्थित चुरियामाई सुरुङको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले विकास निर्माणको कामलाई व्यवस्थित र उत्पादनमुखी बनाउन जरुरी रहेको बताए ।
सञ्चालनको विधि नहुँदा केही आयोजनाहरू अलपत्र अवस्थामा रहेको र राखेको ठुलो लगानी प्रयोगविहीन बनेको उनको भनाई छ । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले एक शताब्दीको सुरुङलाइ जिवित गर्दै हेटौंडा उपमहानगरको पोल्टामा सुम्पिएको बताए । सरकारले प्राथमिकताको आधारमा बहुवर्षिय योजनालाई कार्यान्वयन गर्दै आइरहेको उनले बताए । नगरपालिकाले स्वामीत्व लिइसकेपछि व्यवस्थापन र संरक्षणमा चुस्तदुरुस्त रहन समेत उनले आग्रह गरे । कार्यक्रममा मुख्यमन्त्री बहादुर सिं लामाले हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामालाई सुरुङमार्गको साँचो हस्तान्तरण गरेका थिए ।
साँचो ग्रहण गर्दै नगरप्रमुख लामाले कार्यविधि निर्माण गरेर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । उनले सबैको साथ सहयोगका साथ व्यवस्थापनको जागरुकताले सुरुङ र मन्दिरको संरक्षण हुने बताइन् । कार्यक्रममा प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेल, पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयाल, प्रदेश सभाका सदस्यहरु, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। सुरुङमार्ग पुननिर्माण कार्यका लागि प्रदेश सरकारबाट तीन करोड ३६ लाख १३ हजार ८७८ रुपैयाँमा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेडसँग सम्झौता गरेपनि यर्थात लागत खर्च तीन करोड ६५ लाख ८५ हजार ४१५ रुपैयाँ खर्च भएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पोखरेलले बताए ।
सुरुङ मार्ग २२५ मिटर लामो सुरुङको चौडाइ २।५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ । मकवानपुर र बारा जिल्लाको सिमाना हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग अवलोकनका लागि उपमहानगरले तयार गरेको कार्य विधि अनुसार नेपालीका लागि प्रतिव्यक्ति रु। ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशी नागरिकलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको उपमहानगरपालिकाले जनाएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई भने निःशुल्क गरिएको जनाइएको छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण भएको ’चुरियामाई सुरुङ’ बीच भागमा भासिएको थियो । उहाँले नै निर्माणको सुरु गर्नुभएकाले पहिलो मानव निर्मित सुरुङमार्गको रुपमा विश्वप्रख्यात छ । हेटौंडा उपमहानगरपालिकाले थापाको अर्धकदको प्रतिमा सुरुङमार्गको प्रवेशद्धार परिसरमा निर्माण गरेको छ ।






