हेटौंडा, हेटौंडा जेसीज वर्ष सन् २०२५ को कार्यकारिणी उपाध्यक्ष पदका लागि सञ्जिव तिमल्सिना ९सुदिप० ले उम्मेदवारी घोषणा गरेका छन् । यही पुष १३ गते हुने जेसीजको निर्वाचनमा आफ्नो उम्मेदवारी कार्यकारिणी उपाध्यक्ष पदका लागि हुने उनले बताए ।
सन् २०१७ मा जेसीज प्रवेश गरेका तिमल्सिनाले वर्ष २०२० मा उपाध्यक्ष र २०२३ मा शाखा सम्पादक भएर काम गरेका छन् । २०२३ मै जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तरगत शैक्षिक सामग्री वितरण कार्यक्रममा कार्यक्रम संयोजकको जिम्मेवारीमा उनले कार्यकुशलता प्रदर्शन गरेपछी जेसीजमा उनको बेग्लै पहिचान स्थापित भएको थियो ।
बाल्यकालदेखि नै सामाजिक सेवा तथा व्यावसायिक उन्नतीप्रति रुची राख्ने तिमल्सिनाले झण्डै एक दशकको जेसीज यात्रामा रहेर आफुलाई सामाजिक सेवामा समर्पित गरेका छन् ।
युवाहरुको नेतृत्व, व्यक्तित्व विकास, सामाजिक सेवा, युवा सशक्तिकरण, र शहरी र ग्रामीण समुदायहरुमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा सक्रियतापूर्वक काम गर्न आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् ।
‘जेसीज युवाहरुका लागि विश्वविद्यालय हो, आफ्नो पनि क्षमता विकास गर्दै युवाहरुको क्षमता विकासका लागि विभिन्न तालिम कार्यक्रममा जोड दिनेछु । अध्यक्षज्यूको नेतृत्वमा सिंगो कार्यसमितिले ल्याएका सकारात्मक योगनाहरु सफल बनाउन सक्रियतापूर्वक भूमिका खेल्नेछु । म जेसीजमा समय दिन पनि भ्याउँछु, सामाजिक सेवा गर्ने रुची पनि भएकाले मैले उम्मेदवारी दिएको हुँ । उनले भने ।
निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको उपाध्यक्ष र लायन्स क्लब अफ हेटौंडा सिटीको उपाध्यक्ष पदमा रहेर काम गरेका उनी हार्डवेयर व्यवसायी हुन् । उनले सुदिप हार्डवेयर एण्ड सप्लायर्स, डिके हार्डवेयर र एस एण्ड एस सप्लायर्स संचालन गरेका छन् ।






