हेटौंडा, विगतवर्षझै यसवर्ष पनि जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा आगामी माघ २४ गतेदेखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिए ।

‘प्रतियोगितामा प्रथम र दोस्रो हुने खेलाडी राष्ट्रिय खेलाडीमा छनौट हुने छन् ।’ अध्यक्ष बज्राचार्यले भने –‘मकवानपुर जिल्लामा रहेका डोजाङ प्रमुखलाई खेलाडी छनौटका निम्ति पत्राचार पनि गरिसकेका छौँ ।’ माघ १९ गते ब्ल्याक बेल्ट र रेड बेल्टको ग्रेडिङ हुने भएकोले माघ १३ गतेबाट खेलाडीलाई लक्षित गरी ट्रेनिङको आयोजना गरिएको उनले जानकारी दिए ।
गतवर्ष भएको १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३०० खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको प्रथम जनज्योती तेक्वान्दो डोजाङ, दोस्रो कर्रा तेक्वान्दो डोजाङ र तेस्रो मकवानपुर तेक्वान्दो डोजाङ भएका थिए ।प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो भएका समूहलाई आयोजकले शिल्ड प्रदान गरेको थियो ।







