हेटौंडा, निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) ले यही माघ ६ गतेबाट देशैभरि एकैसाथ माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ पूर्व तयारी परीक्षा सञ्चालन गरिने भएको छ ।

केन्द्रीय प्याव्सनले जारी गरेको परीक्षा तालिकाअनुसार प्याव्सनमा आबद्ध विद्यालयहरुमा अध्ययनरत एसईई विद्यार्थीलाई लक्षित गरी बिहान ७ः३० बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गर्न लागेको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिए । मकवानपुर जिल्लामा हुने माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ परीक्षाको तयारी पूरा भएको उनले जानकारी दिए ।
‘प्याव्सन केन्द्रले एसईई मापदण्ड अनुसार ७ वटै प्रदेशका लागि प्रदेशगत रुपमा प्रश्नपत्र तयार गरेको छ ।’ उनले भने –‘परीक्षाको उत्तर पुस्तिका केन्द्रमार्फत परीक्षण र सपरिक्षण गरिने छ ।’ परीक्षा सञ्चालनको लागि थाहा नगरपालिकामा २ वटा, मनहरी गाउँपालिकामा १ वटा र हेटौंडा उपमहानगरपालिकामा ६ वटा गरी ९ वटा केन्द्र कायम गरिएको उनले बताए । मकवानपुर जिल्लाबाट १ हजार ३ सय १० जना विद्यार्थीले परीक्षामा सम्मिलित हुँदै छन् । परीक्षाको लागि सम्बन्धित विद्यालयका प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ ।
माघ १५ गतेसम्म सञ्चालन हुने एसईई पूर्वतयारी परीक्षामा पहिलो दिन माघ ६ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।दोस्रो दिन ७ गते अनिवार्य नेपाली, तेस्रो दिन ९ गते अनिवार्य गणितको परीक्षा हुनेछ । ११ गते अनिवार्य विज्ञान, १३ गते अनिवार्य सामाजिक अध्ययन, १४ गते ऐच्छिक प्रथम र १५ ऐच्छिक दोस्रो विषयको परीक्षा सञ्चालन हुनेछ ।







