हेटौंडा, बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सरकारको नीति स्पष्ट नहुँदा व्यवसायीको लगानी सुरक्षित हुन नसकेको बताएका छन् । आइतबार हेटौंडामा आयोजित उद्योग संघ मकवानपुरले आयोजना गरेको एम स्टार्ट अप विजनेश इन्क्युवेसन सेन्टर तथा एम नव उद्यमशाला बुट क्याम्पको उद्घाटन गर्दै मन्त्री चित्रकारले उद्योग व्यवसायलाई प्राथमिकतामा राख्न नसके उद्योगहरु धरासाही हुने र व्यवसायी पलायन हुने अवस्था आउन सक्नेमा जिकिर गरे ।
मन्त्री चित्रकारले नवउद्यमीहरुलाई प्रोत्साहन गर्न मन्त्रालय तयार रहेको बताउँदै पहिलो लक्ष्य रोजगारी सिर्जना गर्नु र यसका लागि प्रदेश सरकार एजेन्सीको रुपमा रहन तयार रहेको बताए । चार दिन सम्म सञ्चालन हुने कार्यशालामा २० जना नवउद्यम युवाहरुको सहभागिता रहेको उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेलले बताए ।
मकवानपुर जिल्लाभरिबाट प्राप्त आवेदनबाट पहिलो चरणको कार्यक्रमले २० जना उत्कृष्ट उद्यमीलाई समेट्ने लक्ष्य लिएको छ । क्याम्पसमा नवीनतम् सोचमा आधारित उद्यमहरु, साना तथा मझौला उद्यमहरु, घरेलु उद्यमीहरुको सहभागिता रहेको अध्यक्ष प्याकुरेलले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामा, उद्योग संघका पुर्व अध्यक्ष लेखनाथ पोखरेल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायतले उद्यमशीलता मेलाबाट दक्ष उद्यमी उत्पादनमा सहयोग पुग्ने बताएका छन् ।