हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । हेटौंडाका विभिन्न वडाहरुलाई बालमैत्री घोषणा गरिरहेकोमा ५ नम्बर वडालाई पनि बालमैत्री शासनयुक्त घोषणा गर्न लागिएको हो ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई यही पुष २४ गते बुधबार बालमैत्री वडा घोषणा गर्न लागिएको विहीबार पत्रकार सम्मेलनमार्फत् हेटौंडा–५ का वडाध्यक्ष सुशिल घिमिरेले जानकारी दिए । उनले यस अभियानको क्रममा बालश्रम न्यूनिकरण गर्नतर्फ ७ जना बालकको उद्दार गरिएको घिमिरेले बताए । हामीले होटल, ग्यारेज र ग्रील उद्योगमा बालश्रम भेटिएपछि तराई क्षेत्रका र भारतीय बालकहरुको उद्दार गरेका हौं, अध्यक्ष घिमिरेले भने । वडामा भाडामा बस्ने मनहरीका दुईवटा वालविवाहलाई हामी रोक्न सफल भयौं, र अभिभावकको जिम्मा लगाएका थियौं ।
बालबालिका सडकमा आउनुको कारण मुख्य आर्थिक कमजोर रहेको देखिन्छ, वडाले अभिभावकलाई रोजगारको क्षेत्रमा लगाएर पनि सहयोग गर्दै आइरहेको वडाध्यक्ष घिमिरेले बताए । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधि, २०७९ को मार्गदर्शन अनुसार वडाले बालमैत्रीको लागि पौन २ लाख बजेटमा आवश्यक तयारी गरिएको उनले बताए । वडा ५ मा घरधुरी सर्वेक्षण २०७९ अनुसार दुई हजार ८७५ घरधुरी रहेको छ भने १४ हजार १२७ जना कुल जनसंख्या रहेको छ ।







