हेटौंडा, बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडामा निर्माणधिन अवस्थामा रहेको खेलकुद पूर्वाधार निर्माण कार्य समयमै सक्न निर्देशन दिएका छन् ।
मन्त्री महर्जनले बिहीबार हेटौंडा–६, गौरीटार रंगशालाको स्थलगत अवलोकन गर्दै खेलकुद पूर्वाधार निर्माण कार्य समयमै सक्न सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्देशन दिएका हुन् ।
उनले खेलकुद पूर्वाधार समयमै नबन्दा खेलकुदसँग सम्बन्धित गतिविधि अगाडि बढाउन समस्या भएको उल्लेख गर्दै जतिसक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
रंगशाला निर्माणको कार्य वर्षौँ अघि सुरु भएतापनि हालसम्म पनि पूरा नहुँदा निर्माणाधिन संरचनामा समेत टुटफुट तथा अन्य समस्या देखिएको छ । प्याराफिटमा राखिएका कुर्सीहरु भाँचिएको अवस्थामा छ भने ढोकाहरु कुहिन थालिसकेका छन् ।
मन्त्री महर्जन सम्बन्धित कार्यालयका प्रमुख, निर्माण व्यवसायी कम्पनीका प्राविधिक लगायतको टोलीसँगै स्थलगत अनुगमनमा पुगेका थिए ।
सो क्रममा सामाजिक विकास कार्यालय हेटौंडाका प्रमुख गोपाल कँडेलले फुटबल प्याराफिट निर्माणको कार्य करिब ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । उनले बाँकी ५ प्रतिशत काम पनि अब चाँडै नै सकिने भन्दै त्यसलाई तीब्रता दिने दृढता व्यक्त गरे ।
मैदान र प्याराफिट निर्माणको कार्य गत आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेपनि केही ढिलो हुन गएको र अब चाँडै सम्पन्न गरिने कार्यालय प्रमुख कँडेलले बताए ।
तत्कालिन अवस्थामा सामाजिक विकास मन्त्रालय मातहतको सामाजिक विकास कार्यालयमार्फत् पूर्वाधार निर्माणको काम सुरु भएको थियो । प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय स्थापनापूर्व प्रदेश खेलकुद विकास परिषद् सामाजिक विकास मन्त्रालय मातहत रहेको थियो ।
अवलोकनका क्रममा प्रदेश खेलकुद विकास परिषद्का प्रमुख बद्री पाठक, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाईँ, मन्त्रालयका इन्जिनियर निमेश बर्तौलालगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
२३ बिघा क्षेत्रफलमा रहेको रंगशाला निर्माणमा करिब ५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यसमा फूटबल मैदानसँगै पौडी पौखरी, क्रिकेट, एथलेटिक्सका लागि पूर्वाधार, फिटनेस सेन्ट्रर लगायत २१ वटा खेल संरचना निर्माण भइरहेका छन् ।
रंगशालाभित्र खेलाडीका लागि कोठाहरू, आवास गृह, शौचालय, मिडिया सेन्टरका लागि विशेष कक्ष, प्रतियोगिता सञ्चालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना र खेलाडीलाई लाग्न सक्ने चोटपटकको उपचारका निम्ति चिकित्सक बस्ने छुट्टै–छुट्टै कक्ष बन्ने जनाइएको छ ।