हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले २५ मिटर सडक विस्तारमा मकवानपुर उद्योग वाणिज्य संघ विरोधी नभएको बताएका छन् । शनिबार हेटौंडामा भएको मकवानपुर ग्याँस व्यवसायी संघको बाह्रौँ वार्षिक साधारणसभा तथा विशेष अधिवेशन कार्यक्रममा बोल्दै रानाभाटले सडक विस्तारलाई अन्यौलतामा राख्नु नहुने बताए ।
‘मकवानपुर उद्योग वाणिज्य संघले सडक विस्तारको कामलाई रोक्यो भन्ने आरोप छ । त्यसलाई म खण्डन गर्न चाहान्छु ।’ अध्यक्ष रानाभाटले भने –‘मकवानपुर उद्योग वाणिज्य संघ सडक विस्तारको विरोधी होइन । यहाँको विकास हेर्न चाहन्छौँ ।’ हेटौंडाबासी भएको कारणले गर्दा मकवानपुर उद्योग वाणिज्य संघ सडक विस्तारको कार्य रोक्नुपर्छ भन्ने पक्षमा नरहेको उनले जिकिर गरे । ‘सडक विस्तार गर्ने हो भने सरकारले लगत कट्टा गरी दिनुपर्यो होइन भने न्यायलयले निर्णय गरिसकेको छ । अन्यौलता नगरिकन कार्यान्वयन पक्षमा जानुपर्दछ ।’ उनले भने –‘मकवानपुर उद्योग वाणिज्य संघ कहिले पनि भत्काउन हुन्न भन्ने पक्षमा लबिङ गर्दैन र भत्काउनु पर्छ । यदि मुअब्जा दिनुछैन भने कारण खुलाइदिनु पर्यो, दिनु छ भने यथाशिघ्र दिएर निकासा अगाडि बढ्नुपर्यो ।’
चुनावी प्रतिस्पर्धामा प्यानल बनाएर होमिएतापनि उपभोक्ता र व्यवसायीको हकहितको लागि एक ढिक्का भएर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । संघका कार्यवहाक अध्यक्ष नविन लामाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा ग्याँस विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु दुलाल, ग्याँस व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष बिनोदमान श्रेष्ठ, ग्याँस व्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष दिलिशगोविन्द जोशीलगायतको आतिथ्यता रहेको थियो ।
लामाको नेतृत्वमा ग्याँस व्यवसायी संघ मकवानपुर
मकवानपुर ग्याँस व्यवसायी संघ मकवानपुरको अध्यक्षमा नविन लामा चयन भएका छन् । शनिबार भएको संघको विशेष अधिवेशनबाट अध्यक्षमा लामालाई सर्वसम्मत चयन गरिएको हो ।
मकवानपुर ग्याँस व्यवसायी संघका अध्यक्ष केशव मुडभरी सवारी दुर्घटनामा परी मृत्यु भएपश्चात संघको कार्यवहाक अध्यक्षको जिम्मेवारी नविन लामाले सम्हालेका थिए । यसैगरी संघको उपाध्यक्षमा मदन कुमार न्यौपाने, सचिवमा सुदर्शन पौडेल र सदस्यमा अच्युत मुडभरी चयन भएका छन् ।







