हेटौंडामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव हुने

हेटौंडा, नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा आगामी फागुन ९ र १० गते हेटौंडामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव हुने भएको छ । नवसर्जकहरु उत्पादन गर्ने, पठन तथा लेखा संस्कृतिको विकास गर्ने उद्देश्यले नवसर्जक उत्सव आयोजना गर्न लागेको सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले दोस्रो राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशनको बारेमा जानकारी दिइएको हो ।

ADVERTISEMENT

‘हेटौंडामा दुईदिन उत्सव कार्यक्रम आयोजना गर्दैछौँ । ’ नवसर्जक साहित्य चौतारी नेपालका संस्थापक तथा संरक्षक दीपक गौतमले भने –‘फागुन ९ गते सिर्जनात्मक लेखन कार्यशाला तथा फागुन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोगिता तथा रचना वाचन कार्यक्रम हुने छ ।’ वि.सं. २०७७ साल जेष्ठ २८ गते पहिलो बाल उत्सव कार्यक्रम आयोजना गरेकोमा यस वर्ष नवसर्जक उत्सव कार्यक्रम आयोजना गर्न लागेको उनले बताए ।

फागुन ९ गते हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा ८ विधाको सिर्जनात्मक लेखन कार्यशाला हुनेछ । जसमा मुक्तक लेखन कार्यशाला, गजल लेखन, लोक लयमा कविता लेखन, गद्य कविता लेखन, कथा लेखन, नाटक लेखन, निबन्ध (यात्रा संस्मरण) लेखन र चित्रकला लेखन हुनेछ । कार्यशाला २ घण्टा सञ्चालन हुने उनले बताए ।

यसैगरी फागुन १० गते हेटौंडा–११ शहीद स्मारकमा नवप्रतिभा प्रवद्र्धनमा विद्यालय र स्थानीय सरकारबीच बहस, राष्ट्रव्यापी नवसर्जक (२५ वर्ष मुनिका) गजल प्रतियोगिता (उत्कृष्ट ३ जनालाई नगद ७ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित प्रादेशिक नवप्रतिभा सम्मान, एकजना अग्रज बालसाहित्य सर्जक वा अभियन्तालाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहितको लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्य सम्मान समर्पण, नवसर्जक मुक्तक वाचन, ७ प्रदेशका नवसर्जक प्रतिभाका रचना वाचन, संस्थासँग जोडिएका २५ वर्षमुनिका कृति प्रकाशन गर्ने नवसर्जकलाई कृति प्रकाशन सम्मान, उत्कृष्ट प्रदेश समिति पुरस्कार, नवप्रतिभाका सांस्कृतिक नृत्य तथा गायन र प्रथम केन्द्रीय अधिवेशन हुने उनले बताए । कार्यक्रमको लागि ३५० जना विद्यार्थी र ५० जना शिक्षकको सहभागिता रहने उनले बताए ।

कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले साहित्य क्षेत्रमा नयाँ पुस्तालाई उत्पादन र आकर्षण गर्ने उद्देश्यले आयोजित नवसर्जक उत्सव कार्यक्रम निकै फलदायी हुने बताए । उत्सवको लागि ४ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । नवसर्जक उत्सवको लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा–४ नम्वर वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालय मुख्य आर्थिक व्यवस्थापनमा रहेको छ । पत्रकार सम्मेलनमा नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार रमेशमोहन अधिकारी, अर्चना दाहाल, विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष कृतिका लौडारीलगायतको उपस्थित रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *