हेटौंडा, मकवानपुर क्रिकेट संघको आयोजनामा विहीबारबाट प्रथम स्व. निरज श्रेष्ठ स्मृति जिल्ला स्तरिय अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । विहीबार भएको पहिलो खेलमा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले कमाने एकेडेमीलाई हराउँदै विजयी शुरुवात गरेको छ । शुरुमा ब्याटिङको लागि मैदान उत्रेको कमाने एकेडेमीले १३ दशमलव २ ओभर खेल्दै १० विकेटको क्षतिमा २९रन बनायो । कमानेका कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेन ।
कमाने एकेडेमीलाई सस्तैमा समेट्नको लागि नवोदय शिशु सदनका अजल मानन्धरले ३ विकेट, निर्भिक ज्ञवालीले २ विकेट लिन सफल भए भने रोनश उप्रेती, लक्क्षित भट्टराई र चिराग डंगोलले १ विकेट लिए । ३० रनको लक्ष्य पाएको नवोदयले ७ दशमलव २ ओभरमा २ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । नवोदयबाट प्रमित कोइराला २२ रन जोडेका थिए । ३ विकेट लिएका नवोदयका अजल मानन्धर म्यान अफ द म्याच घोषित भए । यसैगरी विहीबारभएको दोस्रो खेलमा जिएस निकेतन विजयी भएको छ । जिएसले सिद्धार्थ माध्यमिक विद्यालयलाई १२० रनले पराजित गरेको हो ।
शुरुमा ब्याटिङ गर्नका लागि मैदान उत्रेको जिएस निकेतनले २० ओभर खेल्दै ६ विकेटको क्षेतिमा सम्मानजनक २०५ रन जोड्न सफल भयो । जिएसका लागि अशोक यादवले ६३ बलको सामना गर्दै १ सय ७ रन बनाए भने अरु खेलाडीले खासै रन बटुल्न सकेनन् । सिद्धार्थको लागि रवि चौधरी र रिक्की यादवले समान २ विकेट लिए । विशाल योगफल लक्ष्य पछ्याएको सिद्धार्थ १४ दशमलव ३ ओभरमा पूरै विकेट गुमाउँदै ८५ रनमै प्याक अप भयो । जिएसको तर्फबाट अशोक यादव, अनिश यादव, अजय चौधरी र आदित्य सिंहले समान २ विकेट लिए ।
प्रतियोगितामा अशोक यादव म्यान अफ द म्याच घोषित भए । १२ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका प्रमुख माधव कोइराला, नेपाल क्रिकेट संघका केन्दीय सदस्य करण महत्रा क्षेत्री, प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।