हेटौँडा बजार क्षेत्र १६-१६ मिटर सडक विस्तार गरिने

हेटौँडा, बागमती प्रदेश सरकारले हेटौँडा बजार क्षेत्रमा पर्ने मुख्य सडक (पूर्व–पश्चिम राजमार्ग) लाई दुबै तर्फ १६–१६ मिटर फराकिलो बनाउने तयारी गरेको जनाएको छ । आज मुख्यमन्त्री कार्यालय परिषरमा भएको पत्रकार सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेल प्रदेशको राजधानी समेत रहेको हेटौँडा बजार क्षेत्रको मुख्य सडक फराकिलो बनाउने विषयमा संघिय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकरात्मक रहेको बताए ।

ADVERTISEMENT

यता मकवानपुर उद्योग वाणिज्य संघले बजार क्षेत्रमा १६-१६ मिटर सडक विस्तार गरी बाइपासबाट राजमार्ग बनाउन माग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै हेटौंडाको मुख्य सडकबाट राजमार्ग लैजादा हजारौ परिवार सुकुम्वासी हुने र अरबौं सम्पती नोक्सानी हुने भएकाले बाइपासबाट राजमार्ग लैजान माग गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले यहाँका व्यवसायीहरु सडक विस्तारको पक्षमा रहेको र दायाँबायाँ १६-१६ मिटर सडक विस्तार गरी बाइपास सञ्चालनमा ल्याउँदा समस्या समाधान हुने बताए ।

मुख्यमन्त्री पाण्डेले हेटौंडाबासीको समस्याको सन्दर्भमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेको बताए । राजमार्गलाई चुरियामाइबाट चौकीटोल बाइपाससम्म जोड्ने र अहिले बजार क्षेत्रको सडक दायाँबायाँ १६ मिटर मात्र भत्काउने गरी कुरा गरिएको जानकारी दिए । हेटौंडा बजारको बाइपास सडकबाट राजमार्ग लैजाने गरी काम सुरु गर्नका लागि आफूले पनि अनुगमन गरेको र यस विषयमा मकवानपुर उद्योग बाणिज्य संघ र राजनीतिक दलका नेताहरु सहितको टोलीले प्रधानमन्त्रीलाई भेटेको बताएका हुन् । बजार क्षेत्रको सडकको बीच भागबाट दायाँबायाँ १६ मिटरमा घरधनी आफैले भत्काउने र राजमार्ग बाइपासबाट लैजाने गरी पहल पनि भइरहेको पाण्डेले बताए ।

कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय डीना र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष सहित आफू उपस्थित भएर प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरेको उनले बताए । तत्कालीन सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्णय सार्वजानिक गर्दा चितवनले कार्यान्वयन गरेको तर हेटौंडाले कार्यान्वयन गर्न नसकेको बताए । हेटौँडा उपमहानगरपालिकाको सडक क्षेत्र मिचेर बनाइएको घर टहरा लगायतका संरचना भत्काउने र यसका लागि अध्ययन गर्न आवश्यक कार्यदल निर्माण गर्ने निर्णय गरेसंगै सडक विस्तारको बिषयले फेरि चर्चा पाएको छ । बागमती प्रदेशको राजधानी भएपछि हालको साँघुरो सडक भत्काएर फराकिलो र व्यवस्थित सडक निर्माण गर्नुपर्ने आवाज समेत उठ्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *