हेटौंडा, हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन तथा व्यवस्थापन गर्ने कार्य रोकिएको छ । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन गरिएको छ।

मङ्गलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभए सम्मका लागि फोहोर नफाल्न उपमहानगरपालिकाका नाममा निषेधाज्ञा जारी गरेसंगै फोहोर सङ्कलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका कार्यालयले बिहीबार सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहोर सङ्कलन स्थगन गरिएको उल्लेख गरेको हो ।दुईसाता अघि राप्ती तटमा रहेको फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्रमा आगलागी भएपछि प्रदुषण फैलिएको भन्दै निवेदक योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोको सुनुवाइ गर्दै न्यायाधीश डा। निर्मला पौडेल भट्टराईको एकल इजलासले मङ्गलबार राप्ती तटमा फोहोर नफाल्नू, फाल्न नलगाउनू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियोे ।हेटौंडा यसअघि मुलुककै सफा सहरको रुपमा पुरस्कृत समेत भैसकेको नगर हो ।







