हेटौंडा, हेटौंडामा जारी वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधीको लागि आयोजक टिम नेपाल खेलकुद महासंघ वडा नम्वर ८ र वडा नम्वर ९ ए भीड्ने भएका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा हेटौंडा वडा नम्वर ८ लाई १०२ रनले पराजित गर्दै आयोजक टिम फाइनल प्रवेश गरेको हो ।
सुरुमा ब्याटिङ गर्न मैदान उत्रेको आयोजकले ९ विकेटको नोक्सानीमा २ सय २० रनको विशाल योगफल तयार पार्न सफल भयो । २ सय २१ रनको लक्ष्य पाएको हेटौंडा वडा नम्वर ८ ले १७ ओभरमा अलआउट हुँदै ११८ रन मात्रै बनाउन सफल भयो । प्रतियोगितामा आयोजक टिमका खेलाडी बिजय घलान म्यान अफ द म्याच घोषित भए । यस्तै आज भएको दोस्रो सेमिफाइनल खेलमा हेटौंडा वडा नम्वर ९ ए विजयी भएको छ ।
सुरुमा ब्याटिङ गर्न मैदान उत्रेको हेटौंडा वडा नम्वर ९ ए ले २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा २२१ रनको विशाल योगफल तयार पार्न सफल भयो । जवाफी ब्याटिङको लागि मैदान उत्रेको हेटौंडा वडा नम्वर २ ले ७ ओभरमा ३ विकेटको नोक्सानीमा ५४ रन बनाउँदा मौसमका कारणले गर्दा खेल अवरुद्ध भयो । उक्त खेलको नतिजाका लागि रेफ्रीले डिएल विधिमार्फत ९ ए टिमलाई विजयी घोषणा गरे । प्रतियोगिताको फाइनल खेल असोज ५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।







