हेटौंडा, हेटौंडामा अनुप घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन ७ गतेबाट नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।
प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुने भएको नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिए । हेटौंडा–१२ निवासी अनुपम घलानको गत असोजमा पहिरोमा परेर निधन भएको थियो । एन्फा एकेडेमीका किशोर खेलाडी घलानको निधनपछि उनको स्मृतिमा प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष घिमिरेले बताए ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष घिमिरेले बताए । प्रतियोगिताको उपाधि विजेता र उपविजेत समूहले क्रमशः एक लाख रुपैया र ७० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी, विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछन् ।






