हेटौँडा, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लामा करिब ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) तथा करिब २ हजार २ सय जना निर्वाचन प्रहरी (म्यादी) परिचालन गर्ने तयारी गरिएको छ।

यद्यपि जिल्लामा कति जना जनपथ प्रहरी परिचालन गरिने भन्ने विषयमा हालसम्म यकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल जनपथ प्रहरी आउने–जाने क्रम जारी रहेकाले अन्तिम संख्या टुंगो लाग्न बाँकी छ। ‘काजमा मकवानपुरमा रहेका केही प्रहरी अन्यत्र रमना लिएर जाने प्रक्रिया जारी छ भने प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी बल आउन बाँकी रहेकाले अबको केही दिनपछि मात्र जनपथ प्रहरीको यकिन संख्या सार्वजनिक गर्न सकिने अवस्था छ,’ प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षाको तयारी चरणबद्ध रूपमा थप सुदृढ बनाइँदै लगिएको छ।






