ओलम्पियाडमा मकवानपुरबाट सात जना विद्यार्थी छनौट

हेटौंडा, म्याथम्याटिकल एशोसियसन अफ नेपालको आयोजनामा भएको जिल्लास्तरिय ‘म्याथम्याटिकल ओलम्पियाड’ प्रतियोगितामा मकवानपुरबाट सात जना विद्यार्थी छनौट भएका छन् । छनौट हुनेमा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका आयुश गौतम, अंकित अधिकारी, निर्जल पौडेल, नवोदय शिशु सदनका अमिर चौधरी, नारायणी कलेजका अमूल चौलागाई, मकवानपुर बहुमुखी क्याम्पसका हरिनारायण प्रसाद यादव र सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ स्कूलबाट रितिका गुप्ता रहेका छन् ।

गत माघ २२ गते हेटौंडामा भएको प्रतियोगितामा ४४ जना विद्यार्थीबाट सात जना विद्यार्थी छनौट भएको म्याथम्याटिकल एशोसियसन अफ नेपाल मकवानपुरका संयोजक किशन बास्तोलाले जानकारी दिए । ‘यो विद्यार्थीहरुको लागि राम्रो अवसर थियो । प्रतियोगिताको लागि मकवानपुर जिल्लामा रहेका १ सय ४० वटा विद्यालयलाई प्रतियोगितामा सहभागीताको लागि खवर गरेका थियौँ ।’ उनले भने –‘प्रतियोगितामा विद्यार्थीहरुको सहभागीता न्यून रह्यो ।’

प्रतियोगितामा छनौट भएका सात जना विद्यार्थीहरुले यही फागुन २७ गते राष्ट्रिय लेभलमा भाग लिदैछन् । फागुन २७ गते हुने छनौट प्रतियोगितामा बिर्तामोड, जनकपुर, हेटौंडा, भरतपुर, पोखरा, बुटवल, घोरही, नेपालगञ्ज, विरेन्द्रनगर र काठमाडौंमा छनौट भएका करिव ५ सय ७८ जनाले सहभागीता जनाउने छन् ।

हरेक वर्ष विभिन्न अन्तराष्ट्रियमा हुने उक्त प्रतियोगिता खेल्नका लागि नेपालबाट ६ जना प्रतिस्पर्धी बाहिरिने गरेको बास्तोलाले जानकारी दिए । कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले म्याथम्याटिकल ओलम्पियाड प्रतियोगितामा भाग लिन पाउने छन् । जिल्ला स्तरिय प्रतियोगितामा छनौट भएका विद्यार्थीहरुले आगामी वर्ष हुने राष्ट्रिय लेभल छनौटमा स्वत छनौट हुने प्रावधान रहेको म्याथम्याटिकल एशोसियसन अफ नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button