प्रधानमन्त्री कप छनोटमा मकवानपुर क्रिकेट क्लब र ओम नगर बिजयी

हेटौँडा, मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता हेटौंडामा सुरु भएको छ । मङ्गलबारबाट शुरु भएको छनोट प्रतियोगितामा मकवानपुर क्रिकेट क्लब र ओम नगर क्रिकेट क्लब विजयी भएको छ । आज भएको उद्घाटन खेलमा मकवानपुर ११ लाई १ सय ७५ रनले पराजित गर्दै मकवानपुर क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।

ADVERTISEMENT

टस जितेर ब्याटिङ रोजेको मकवानपुर क्रिकेट क्लबले २५ ओभरमा ३ विकेटको नोक्सानीमा २३४ रन बनायो । मकवानपुर क्रिकेट क्लबको लागि इर्फान अलिले ४६ बलको सामना गर्दै ६४ रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे । यसैगरी सुवर्ण भट्टले ५२ रन, रिजन ढकालले ३४ रन, विशेष थापाले २७ रन, राम नरेश गिरीले २२ रन बनाएका थिए । मकवानपुर ११ बाट बिरेन श्रेष्ठ, अनिल पाण्डे र सम्रान गौतमले समान १ विकेट हात पारे । सम्मानजनक २३५ रनको लक्ष्य पाएको मकवानपुर ११ अलआउट हुँदै ५९ रन बनायो ।

मकवानपुर ११ लाई सस्तैमा समेट्नको लागि साकार गजुरेलले ६ विकेट, निश्चल दुलालले ५ विकेट र राम नरेश गिरीले २ विकेट लिन सफल भए । मकवानपुर क्रिकेट क्लबका साकार गजुरेल खेलको म्यान अफ द म्याच घोषित भए । ‘प्रधानमन्त्री कप क्रिकेट छनौट प्रतियोगिता भएकोले गर्दा २५ ओभरको खेल खेलाएका छौँ ।’ प्रतियोगिताका संयोजक संजोग पोखरेलले भने – ‘२० ओभरमा कुनै पनि टिम अल आउट भएमा टिममा समावेश भएका एक्स्ट्रा खेलाडीलाई पनि खेल्ने अवसर प्रदान गरेका छौँ ।’

ADVERTISEMENT

यसैगरी आज भएको दोस्रो खेलमा ओम नगर क्रिकेट क्लब विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको न्यू मनिङ युथ क्लवले १५ ओभरमा अल आउट हुँदै १३ विकेटको नोक्सानीमा ९७ रन बनायो । युथ क्लवको लागि युविन बुढाथोकीले ६२ बलमा अर्थसतक रन जोडे भने अरु खेलाडीले दोहोरो अंक जोड्न सकेन । युथ क्लवलाई सस्तैमा समेट्नको लागि ओम नगरका खेलाडी असिम श्रेष्ठले ४ विकेट, रोहित ठाकुरले ३ विकेट र पियुस शर्माले २ विकेट लिए ।

९८ रनको लक्ष्य पाएको ओमनगरले ११ ओभरमा विना विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । जवाफी ब्याटिङको लागि मैदान उत्रेको शुभ कंसाकारले ६० रन र गौरभ खड्काले ३४ रनको नट आउटको ओपनर पारी खेल्दै ओमनगर विजयी बन्यो । ओम नगरका असिम श्रेष्ठ खेलको म्यान अफ द म्याच घोषित भए । मङ्गलबार हेटौँडा–४, हुप्रचौरमा वडा अध्यक्ष नवीन सिग्देलले अम्पायरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको सुरुवात गरेका हो । लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक पोखरेलले जानकारी दिए ।

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेण्डरअनुसार हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुरका खेलाडीहरु सहभागी गराउन छनोट प्रतियोगिता आयोजना गरेको संयोजक पोखरेलले बताए । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट व्याट्सम्यान, सर्वोकृष्ट बलरलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *