हेटौंडा, सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत आइतबार भएको खेलमा सशस्त्र प्रहरीको ९एपीएफ० क्लब विजयी भएको छ ।
बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा जारी प्रतियोगितामा एपीएफले भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । अब एपीएफको भेट ‘ए’ डिभिजन टोली संकटासँग हुनेछ ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको नजिता पेनाल्टी सुटआउटमार्फत गरिएको थियो । पेनाल्टीमा एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले दुई वटा प्रहार उत्कृष्टरुपमा रोक्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
टाइब्रेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दीपेश धिमाल र मणि लामाको प्रहार गोलमा परिणत भएको थियो । भरतपुरका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक श्रेष्ठले बचाएका थिए । भरतपुरका विदेशी खेलाडी बफरको प्रहार आकाशिएसँगै सशस्त्रको जित सुनिश्चत भएको हो ।
प्रतियोगिताअन्तर्गत फागुन ५ गते त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज क्लबबीच खेल हुनेछ ।








