हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा भइरहेको खेलकुद महोत्सव अन्तर्गत नगरस्तरीय बास्केटबलको उपाधी नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले जितेको छ । सोमबार भएको फाइनल खेलमा कमाने एकेडेमीलाई ४६–१८ अङ्कले पराजित गर्दै नवोदय विद्यालय विजयी भएको हो ।

हेटौंडा उपमहानगरपालिकामा रहेको ६ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा कमानेले ज्ञानोदय एकेडेमीलाई र नवोदयले तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा– ४ को संयोजन र नवोदय शिशुसदन विद्यालयको व्यवस्थापनमा बास्केट बल प्रतियोगिता भएको हो । फागुन ७ गते औपचारिक कार्यक्रमको आयोजना गरी विजेतालाई पुरस्कार वितरण गरिने शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।
यसैगरी आज भएको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्तरीय वक्तृत्वकला प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रथम, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट दोस्रो र हेटौंडा क्याम्पस तेस्रो भएको हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए । आज भएको टग अफ वार वडा स्तरीय महिला शिक्षक प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालय प्रथम र ब्रम्हदिक एकेडेमी दोस्रो भएको छ ।

भुटनदेवीले श्रमिक माध्यमिक विद्यालयलाई र ब्रम्हदिकले नवोदय शिशु सदन विद्यालयलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा भएको नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौंडा एकेडेमी प्रथम र बुद्ध मावि पानतले दोस्रो भएको छ । यसैगरी नगरस्तरीय क्रिकेट प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि प्रथम र भुटनदेवी माध्यमिक विद्यालय दोस्रो भएको छ ।






