हेटौंडा, प्रदेश युवा परिषद् बागमतीले स्वीकृत वार्षिक कार्यक्रमअनुसार ३०५ जना युवाका लागि विभिन्न सीपमूलक तालिम सुरु गरेको छ। सोमबार आयोजित उद्घाटन समारोहमा नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले तालिमको औपचारिक उद्घाटन गर्नुभएको हो।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मन्त्री महर्जनले युवाहरुलाई सीप प्रदान गरी गाउँ, समाज हुँदै देशकै आर्थिक रूपान्तरणमा योगदान पुर्याउन सकिने बताउनुभयो। उहाँले यस्ता तालिमले युवाहरुलाई नेपालमै रोजगारको अवसर सिर्जना गर्न मद्दत गर्ने भएकाले प्रदेश सरकारबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
३९०र१६० घण्टे तालिमअन्तर्गत कुक, वेटर, बारिष्टा, मन्टेश्वरी, ब्युटीपार्लर र विल्डिङ्ग इलेक्ट्रिसियन जस्ता विषय समावेश गरिएको छ। उद्घाटन समारोहमा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, हेटौड़ा उपमाहानगर(४ का अध्यक्ष नबीन सिग्देल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्जल चौलागाईं, मकवानपुर पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारी, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, परिषद्का सदस्य सुरज थापा मगर ९किरण०, कार्यालय प्रमुख रमेश घिमिरे तथा मन्त्री महर्जनका स्वकीय सचिवलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठले प्रदेश युवा परिषद्को कार्यप्रति प्रशंसा गर्दै प्रदेश सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो। त्यसैगरी, परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईले आफ्नो कार्यकालमा बागमती प्रदेशका सम्पूर्ण युवालाई दक्ष, उद्यमी र सक्षम नागरिक बनाउन प्रयासरत रहेको उल्लेख गर्दै आगामी दिनमा समेत युवाको समुन्नतिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा तालिममा सहभागी सम्पूर्ण युवाहरुलाई सफलताको शुभकामना दिँदै औपचारिक समापन गरिएको थियो।






