हेटौंडा, मकवानपुरको १ नम्बर क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह संसदको पूर्वाधार विकास समिति सभापति पदमा चयन भएका छन् । सोमबार भएको निर्वाचनमा पूर्वाधार विकास समितिमा उनी एक्लैको उम्मेदवारी परेपछि सर्वसम्मत भएका हुन् ।
संसदीय भागबण्डाको क्रममा पूर्वाधार विकास समिति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भागमा परेको थियो । उनी राप्रपाबाट निर्वाचित सांसद् हुन् । सांसद् सिंह प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा करिब एक महिना जलस्रोत तथा उर्जा राज्यमन्त्री चयन भएका थिए । दलहरुका बीचमा संसदीय समितिमा भागबण्डा मिलेसँगै सिंहसहित संसदको १० वटै समितिको सभापति चयन भएका छन् । संसदीय समितिमा नेपाली कांग्रेसले तीन, नेकपा एमालेले दुई तथा नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीले एक/एक वटा समितिको नेतृत्व पाउने सहमति भएको थियो । १० वटा समितिमध्ये आइतबार ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि सबै निर्विरोध चयन भएका हुन् । अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, कानून, न्याय तथा मानव अधिकार समितिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान चयन भएका छन् । सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी चयन भएका छन् । संसद् सुरु भएको करिब साढे ७ महिनापछि संसदीय समितिले नेतृत्व पाएको हो ।