हेटौँडा, मकवानपुरमा संचालनमा रहेको अवैध कन्सल्टेन्सी तथा शैक्षिक संस्थाहरु बन्द गर्न प्रशासनले ३ दिने अल्टिमेटम जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिना अनुमति सञ्चालनमा रहेका शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण गर्ने संस्थाहरुलाई ३ दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । प्रशासनले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट आवश्यक अनुमति नलिई गैरकानुनी रुपमा सञ्चालनमा रहेका शैीषक संस्थाहरुलाई शैक्षिक तथा प्रशासनिक क्रियाकलापहरु पूर्ण रुपमा बन्द गर्न अल्टिमेटम दिएको हो ।
सम्बन्धित निकायबाट अनुमति प्राप्त संस्थाहरुको विवरण कार्यालयमा प्राप्त भए तापनि, केही संस्थाहरु अनुमति नलिई प्रचलित कानुन विपरीत सञ्चालन भइरहेको जानकारी प्राप्त भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार अवैध शैक्षिक तथा परामर्श दार्ता संस्थाहरु सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र सबै गतिविधि बन्द गर्न निर्देशन गरिएको हो ।
प्रशासनले तोकिएको समयावधिभित्र निर्देशनको पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिने उनले चेतावनी समेत दिए ।






