हेटौंडा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी हेटौंडा ११ को मकवानपुरको आयोजनामा हेटौंडामा १ दिने सकारात्मक सोच अभिवृद्धि कार्यक्रम सञ्चालन भएको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्काको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रहरी उपरीक्षक खड्काले प्रत्येक अभिभावकले आफ्ना सन्तानलाई सानै देखि असल आचारणयुक्त कुराहरु सिकाउने, बालबालिकाको कुरा सुन्ने, समय दिने, बालबालिकाको व्यवहार राम्ररी अध्ययन गर्नुपर्ने बताए।हेटौंडामा बालबालिकाहरु लागू औषध, साईबर क्राईममा फसेको उनले बताए। हेटौंडा ११ नम्वर वडा अध्यक्ष जुना दाहाले समाजमा सकारात्मक सोच अभिबृद्धी गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने र यस्ता कार्यक्रम गर्न वडा कार्यालयको सधै सहयोग रहने बताइन । कार्यक्रमको सहजीकरण मामाघर नेपालका अध्यक्ष तथा शिक्षाविद् डा. अर्पन पराजुलीले गरेका थिए ।
हेटौंडा ११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा हेटौंडा ११ का वडा सदस्य गोपिनी सापकोटा ,उपाध्यक्ष कृष्ण प्रसाद खनाल, कोषाध्यक्ष महेन्द्र पाण्डेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ६० जना अभिभावकहरुको उपस्थिति रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए ।







