हेटौंडा, प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगितालाई मुख्य प्रायोजक तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा नारायणी कलेज हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को सहयोगमा र हेटोंडा–१२ खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा मुख्य प्रायोजक तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा नारायणी कलेज रहेको मङ्गलबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
‘भलिबल खेलको विकास र हेटौंडा–१२ को प्रतिष्ठा पहिचान गराउने उद्देश्यले यही माघ १६ गतेदेखि १९ गतेसम्म जिल्लामा पहिलो पटक वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दैछौँ ।’ प्रतियोगिताका संयोजक मनोज लामा स्याङतानले भने –‘ हेटौंडा उपमहानगरपालिमा रहेका १९ वटै वडाबाट प्रतियोगितामा सहभागिता जनाउनु हुन्छ भन्ने अपेक्षा लिएका छौँ । प्रत्येक टिमले आफ्नो वडाभन्दा बाहिरका बढिमा ३ जना मकवानपुर जिल्लाभरिका खेलाडिहरु समावेश गराउन पाइने नियम बनाएका छौँ ।’
प्रत्येक टिममा १२ जना खेलाडीका साथ १/१ जना टिम प्रशिक्षक र टिम मेनेजर गरी जम्मा १४ जनासम्म हुनुपर्ने नियम बनाएको उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, दोस्रो हुने टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमााणपत्र प्राप्त गर्ने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ । हेटौंडा–१२ स्थित बुद्ध माध्यमिक विद्यालयमा ४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । जसमा वडाबाट एक लाख २५ हजार बजेट विनियोजन गरिएको छ भने बाकीँ अन्य लाग्ने खर्चहरु स्थानीय समाजसेवीहरुबाट प्राप्त गरिने प्रतियोगिता संयोजक स्याङ्तानले बताए ।
यसैगरी तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठले विद्यालय स्थापना भएको ४३ वर्षको अवसरमा सरस्वती पूजाका दिनमा अक्षराम्भ कार्यक्रमको आयोजना गरी निःशुल्क भर्ना अभियान सञ्चालन गर्ने बताए । खेलकुद क्षेत्रको विकास गराउने उद्देश्यले यसअघि जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगितामा पनि विद्यालयले मुख्य प्रायोजकको भूमिका निर्वाह गरिसकेको विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले बताए । पत्रकार सम्मेलनमा हेटौंडा १२ खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाई, तुलसी मेहर मेमोरियल माध्यामिक विद्यालयका अध्यक्ष आशिष श्रेष्ठ, प्राचार्य रघुनाथ खराल, प्रतियोगिता संयोजक मनोज लामा स्याङ्तान लगायतको सहभागिता रहेको थियो ।






