सुजन ढकाल
हेटौंडा, मकवानपुरमा यसवर्ष ७ हजार ४ सय ५६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिने भएका छन् । चैत ७ गतेबाट सुरु हुने यस वर्षको एसइई परीक्षामा नियमिततर्फ ५ हजार ६ सय ३६, प्राविधिक धारतर्फ ३ सय ६२ र एक्जाम्टेडतर्फ १ हजार ४ सय ५८ गरी कूल ७ हजार ४ सय ५६ जना विद्यार्थी सामेल हुने शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
यसवर्ष हुने एसइई परीक्षाका लागि २८ वटा परीक्षाकेन्द्र कायम गरिएको समन्वय ईकाई प्रमुख सुदिप गिरीले जानकारी दिए । मकवानपुरमा रहेका १० वटा पालिका अन्तर्गत हेटौंडा उपमहानगरपालिकामा १५ वटा, थाहा नगरपालिकामा ३ वटा, बकैया गाउँपालिकामा २ वटा, मनहरी गाउँपालिकामा २ वटा, बागमती गाउँपालिकामा १ वटा, भीमफेदी गाउँपालिकामा १ वटा, इन्द्रसरोवर गाउँपालिकामा १ वटा, मकवानपुरगढी गाउँपालिकामा १ वटा, कैलाश गाउँपालिकामा १ वटा र राक्सिराङ गाउँपालिकामा १ वटा गरी २८ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।
गतवर्ष २६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष कालिका मावि कैलाश र श्रमिक माध्यमिक विद्यालयलाई नयाँ केन्द्र थप गरिएको छ । प्राविधिक धारका विद्यालयको परीक्षा केन्द्र श्रमिक माध्यमिक विद्यालयलाई कायम गरिएको छ । मकवानपुर जिल्लामा प्राविधिक धारका विद्यालय १० वटा रहेका छन् ।
चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।






