फोहोर प्लास्टिक संकलन म्याराथनमा दिवस लामा प्रथम

हेटौंडा, राष्ट्रिय युवा संघ नेपाल ९ नम्बर वडा कमिटीको आयोजनामा सम्पन्न फोहोर प्लास्टिक संकलन म्याराथन प्रतियोगितामा दिवस लामा प्रथम भएका छन्। उनले ६.९८ केजी प्लास्टिक संकलन गर्दै पहिलो स्थान हासिल गरेका हुन्।

ADVERTISEMENT

त्यस्तै, ५.०१४ केजी फोहोर संकलन गर्दै दिपु डंगोल दोस्रो भए भने ५.०६ केजी प्लास्टिकजन्य फोहोर संकलन गर्दै दिवस खतिवडा तेस्रो स्थानमा रहे। प्रतियोगिताका विजयीलाई राष्ट्रिय युवा संघ नेपाल लेखा आयोगका प्रमुख सन्तोष चौलागाईंले क्रमशः प्रथमलाई तीन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे। हेटौंडा–९ कर्रास्थित गुम्बा चोकबाट सुरु भएको यो म्याराथनमा सहभागीहरुले ४० मिनेटभित्र मानव सेवा आश्रमसम्मको फोहोर संकलन गर्नु पर्ने नियम रहेको थियो।

तोकिएको समयभित्र बढी तौलको प्लास्टिकजन्य फोहोर संकलन गर्ने आधारमा विजेता छनोट गरिएको थियो। कार्यक्रमको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, बागमती प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ तथा राष्ट्रिय युवा संघ नेपाल लेखा आयोगका प्रमुख सन्तोष चौलागाईंले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।
म्याराथन प्रतियोगितामा ६० जना युवा सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *