हेटौंडा, प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गर्न सफल भयो । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो ।
गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन जोडे । उनले ९० बलको सामना गर्दै ४ चौका प्रहार गरेका थिए । ओपनर समिर कंडेलले ५१ बलमा १ चौकाको सहयोगमा २६ रन जोडे । अमृत गुरुङ २० तथा कमल परियार र दिपक डुम्रे समान १९ रनमा आउट हुँदा सुवास भण्डारी १८ रनमा नट आउट रहे । बागमतीका लागि ब्याटिङमा अर्धशतक बनाएका तथा प्लेयर अफ द म्याच भएका इशान पाण्डेले ४ विकेट लिए । पिएम कप डेब्यु खेल खेलेका साकार गजुरेलले २ तथा सुर्य तामाङ, रिजन ढकाल र गौतम केसीले समान १ विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गरेको थियो । बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ६९ रन जोडेका थिए । उनले ८२ बलमा ६ चौका प्रहार गरेका थिए । दोस्रो विकेटका लागि शुभ कंसाकारसँग इशानले ९० रनको महत्वपुर्ण साझेदारी गरेका थिए । शुभ ५१ बलमा ९ चौकाको सहयोगमा ५२ रनमा आउट भएका थिए ।
विपिन आचार्य ४२ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६३ रन जोड्दै नट आउट रहेका थिए । नवौं विकेटका लागि विपिनले रिजन ढकालसँग मिलेर नट आउट ७६ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । रिजन २४ बलमा ३ चौकाको सहयोगमा २३ रनमा नट आउट रहेका थिए । विवेक राना मगर ३७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाउँदै आउट भए । कप्तान पृथु बास्कोटा १६ तथा ओपनर आशुतोष घिरैया १४ रनमा आउट भए ।
गण्डकीका लागि अर्जुन कुमालले ४ तथा विपिन खत्री र सुवास भण्डारीले समान २ विकेट लिए । जितसँगै बागमती ५ खेलमा ४ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ । पराजित गण्डकी ५ खेलमा २ अंकका साथ आठौं स्थानमा छ ।






