हेटौंडा, कैलाश गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यही चैत १६ गतेबाट कैलाश गाउँपालिकामा तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।

चैत १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई नगद ७५ हजार, ५० हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन वाइबाले जानकारी दिए । विधागत रुपमा उत्कृष्ट खेलाडीलाई ट्रफि प्रदान गरिने छ । ‘चैत १३ गते कार्यालय समय भित्र आवश्यक कागजातसहित गाउँपालिका शिक्षा शाखामा टिम दर्ता गराउनु पर्नेछ ।’ संयोजक वाइबाले भने –‘सहभागी खेलाडीहरू सम्बन्धित वडाको हुनुपर्नेछ । एक टिममा १० खेलाडी, १ कोच, १ म्यानेज र ३ अफिसियल गरी १५ जना हुनुपर्नेछ । ’
खेल तालिका अनुसार खाना र बस्नको प्रबन्ध मिलाइएको उनले बताए । सहभागी खेलाडीलाई गाउँपालिकाले जर्सी प्रदान गरिनेछ । कैलाश गाउँपालिका–३ स्थित कालिकाटार खेलमैदानमा हुने प्रतियोगिताको खेल तालिका चैत १४ गते दिउँसो ३ बजे सार्वजनिक गरिने आयोजकले जनाएको छ ।








