हेटौंडा, नेपाल घर बहाल उपभोक्ता संघ मकवानपुरले घरबहाल कर घटाउन माग गरेका छन् । सोमबार संघले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी बहालकर १० प्रतिशतलाई घटाएर २ प्रतिशत कायम गर्न आग्रह गरेको छ ।
नेपालमा कर प्रणालीमा सुधार भएमा समस्याको समाधान अन्त्य हुने संघका संस्थापक अध्यक्ष नवराज न्यौपानेले बताए । मुलुकी ऐन देवानी संहिता–२०७४ लाई कार्यान्वयन गर्न र छुटेका विषय परिमार्जन गरी घरबहाल कर घटाउन उनले माग गरेका हुन् । हाल बसोबास, व्यवसाय र उद्योग गरी तीन प्रकारका घरबहाल क्षेत्र छन्।
‘पछिल्लो समय बढ्दै गएको आर्थिक मन्दीका कारण व्यापार व्यवसायीहरु धरासय बन्दै गइरहेको छ ।’ नेपाल घरबहाल उपभोक्ता संघ मकवानपुरका अध्यक्ष समिरलाल डंगोलले भने –‘घरधनी जीवित रहे व्यवसाय जिवित रहन्छ, व्यवसाय जिवीत रहे घरधनी जिवित रहन्छ ।’ आर्थिक मन्दीका कारण घरधनीहरुले यथाशक्य घरभाडा कम गरी मुनासिव मासिकमा घरभाडा लिई व्यवसाय सञ्चालन गरिदिन पनि उनले आग्रह गरेका छन् ।







