हेटौँडा, यही जेठ १५ र १६ गते हेटौँडामा मातृभूमि साहित्य महोत्सव हुने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुरको आयोजनामा हेटौँडामा पहिलो पटक हुन लागेको साहित्य महोत्सवको बारेमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको छ ।
साहित्य महोत्सवमा ७ वटा सम्मान तथा पुरस्कार वितरण, रचना वाचन र विभिन्न ४ वटा विषयमा परिचर्चा कार्यक्रम हुने कार्यक्रम संयोजक ह्याग्रीव आचार्यले बताए । महोत्सवमा रुकु कार्कीले आमाको नाममा स्थापना गरेको २१ हजार रुपैयाँ राशीको मायादेवी मातृभूमि पुरस्कार काठमाडौंकी साहित्यकार गीता रेग्मीलाई प्रदान गरिनेछ । यस्तै ईन्द्रबहादुर बानियाँले दाईको नाममा स्थापना गरेको १५ हजार राशीको राजकुमार स्मृति मातृभूमि सम्मान धरानका चन्द्र गुरुङलाई, बानियाँले नै हजुरबुवाको नाममा स्थापना गरेको १५ हजार राशीकै क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान रौतहटका साहित्यकार माधव काफ्लेलाई, हयग्रीव आचार्यले आमाबुवाको नाममा स्थापना गरेको १५ हजार राशीको बलदेवी मातृभूमि छन्द साहित्य सम्मान सुदेश सत्याललाई, वनमाली सुवेदी तथा कृष्णप्रसाद दाहालले स्थापना गरेको १५ हजार राशीको मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान नर्सिङ सेवामा रहेकी मकवानपुरकी रजनी ज्ञवालीलाई, मातृभूमिले नै स्थापना गरेको मातृभूमि पत्रकारिता दीर्घसेवा सम्मान अग्रज पत्रकार प्रताप विष्टलाई र राजबाबु पहाडीले स्थापना गरेको ७ हजार ५ सय राशीको झलकबहादुर बानियाँ स्मृति जीवन संघर्ष प्रोत्साहनवृत्ति कमला आधारभूत विद्यालय हेटौंडा १८ का एक विद्यार्थीलाई प्रदान गरिने भएको छ । कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले गर्ने छिन् ।







