हेटौँडा, ६८ औं राष्ट्रिय सहकारी दिवस हेटौँडामा मनाइएको छ । प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
प्रभातफेरी कार्यक्रममा हेटौंडा–११ को बागेश्वरी महिला सहकारी संस्था लिमिटेड प्रथम भएको छ । बागेश्वरीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । यसैगरी साना किसान सहकारी लिमिटेड हटिया दोस्रो, साना किसान सहकारी संस्था हर्नामाडी तृतीय तथा महिला मिलन बचत तथा ऋण सहकारी संस्था, साना किसान सहकारी मनहरी र साना किसान सहकारी बसामाडी सान्त्वना भएको थियो ।
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको थियो । सहकारी संघसंस्थाको कार्यालयमा यस वर्षको नारा उल्लेख गरी व्यानर राख्नुका साथै सहकारीको विषयमा अन्तरक्रिया तथा रक्तदान कार्यक्रमको आयोजना भएको थियो । दिवस मनाउन बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्षको नेतृत्वमा मूल समारोह समिति गठन गरिएको थियो । कार्यक्रममा जिल्लाका सहकारी संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैगरी मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको नेतृत्वमा मानवसेवा आश्रमको जारी सप्ताह ज्ञान महायज्ञको अवसरमा मकवानपुरका सहकारीले ६ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ । मकवानपुर जिल्ला सहकारी सञ्जालको समन्वयमा जिल्लामा क्रियाशील सहकारीको विषयगत संघ, प्रारम्भिक सहकारी संस्थामार्फत संकलित रकम बुधबार आश्रममा जारी महायज्ञमा पुगेर हस्तान्तरण गरेका हुन् ।







