हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता भोलीबाट हेटौंडामा सुरु हुँदै

हेटौंडा, भोली मंसिर ५ गतेबाट हेटौंडामा हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । मकवानपुरका पूर्व ‘ए’ डिभिजन खेलाडी सुविन घिमिरेले आफ्नो बुवाको स्मृतिमा सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

ADVERTISEMENT

उनले नेतृत्व गरिरहेको एफसी मुण्डियालको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा बारा जिल्लाको सिमरास्थित नव जनजागृति युवा क्लब र हेटौँडा–७ नागस्वतीस्थित नागस्वती युवा क्लबबीच खेल हुने जनाएको छ ।
मंसिर ५ गतेबाट हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुने प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । २१ वर्ष मुनिका खेलाडी मात्रै सहभागी हुन पाउने गरी आयोजना गर्न लागिएको प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ ।

‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको उनले बताए । प्रतियोगताको विजेताले एक लाख ११ हजार ११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताको संयोजक सुदिपसिंह ठकुरी रहेका छन् ।

प्रतियोगिताको लागि प्रथम पुरस्कार घिमिरे परिवारबाटै सहयोग प्राप्त भएको छ भने मुख्य प्रायोजक हेटौंडा सिटी कलेज, सह प्रायोजक दाजुभाई स्वीट्स सहित अन्य विभिन्न व्यक्ति तथा संघसंस्था रहेका छन् । २१ वर्ष मुनीको यस प्रतियोगितालाई आगामी वर्षहरु पनि निरन्तरता दिँदै जाने योजना रहेको संयोजक ठकुरीले बताए । खेलबाट बचेको रकम जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग गरिने आयोजकले जानकारी दिएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *