जनताको मतको सम्मान गर्दै जनमुखी काम गर्छु : मुख्यमन्त्री बानियाँ

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको मतलाई सम्मान गर्दै गरिबमुखी, आयमुखी र न्यायमुखी कार्यमार्फत प्रदेशको समग्र विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्। मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नं. २ (ख) पुगेर सहभागी भएका औपचारिक कार्यक्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

ADVERTISEMENT

मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले जनताको भावना र मर्मलाई आत्मसात् गर्दै निष्पक्ष रूपमा जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए। “मनहरीका जनताले दिएको विश्वासकै कारण आज म मुख्यमन्त्री बन्न सकेको हुँ। अब यो वा त्यो पार्टी नभनी सबै जनताको आवश्यकतालाई मध्यनजर गरी विकास गर्नु मेरो कर्तव्य हो,” उनले भने।

उनले मनहरी गाउँपालिकाको लामिटार–चकरी–मकरी सडकलाई प्राथमिकता दिएर कालोपत्रे गर्ने, पुल तथा अन्य पूर्वाधार निर्माणमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे। साथै, हरितालिका तीजलाई सभ्य, भव्य र सुसंस्कृत ढंगले मनाउन सबैलाई आह्वान गरे।

गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङलगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा मनहरी गाउँपालिकाले मुख्यमन्त्री बानियाँलाई बधाई ज्ञापन गर्दै सम्मानपत्र समेत प्रदान गर्यो।

सो अवसरमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाली काँग्रेसकी नेतृ कमला मैनालीलगायतले शुभकामना मन्तव्य दिएका थिए। मुख्यमन्त्री बानियाँले बुधबार नै मनहरीस्थित आफ्नै सम्पर्क कार्यालयमा पुगेर नागरिकका गुनासा र समस्या सुनेका थिए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *